१२ वर्षमै छिनिन्छ बिहे

http://pkrupdate.blogspot.com/2015/04/blog-post.html

बाँके, वैशाख ६ -
गाउँका महिला आँगनमा ढोलक बजाएर गीत गाउँदै थिए । पाहुनाका लागि मीठोमसिनो खानेकुराको तयारी भइरहेको थियो । घरमा निकै रमझम थियो । घरपरिवार, आफन्त, छिमेकी खुशीयालीमा रमिरहेका बेला १२ वर्षीया लक्ष्मी चमार भने एउटा कुनामा बसेर टोलाइरहिन् । मुहारमा कुनै चमक थिएन । शुक्रबार दुलाहा आएर तिलक (इन्गेजमेन्ट) गरेपछिमात्र उनले थाहा पाइन् आफ्नो बिहे हुँदैछ भन्ने कुरा । त्यसअघि बाबुआमाले वर खोज्दा न उनको इच्छाबारे सोधे, न थाहा दिए ।
'यो उमेरमा विवाह नगरिदिए छोरीको घरबार हुन समस्या हुन्छ । त्यसैले तिलक अहिले नै गरिदियौं,' नाबालक छोरीलाई ठाउँ लगाउन पाएकोमा खुसी हुँदै आमा शारदा चमारले भनिन्,'तीन छोरी छन् । जेठीको यो वर्ष गरियो । माईलीका लागि बर खोजिरहेका छौँ । विस्तारै तीनै छोरीलाई ठाउँ लगाएर पार पाउनै पर्यो ।'
नाबालक छोरीको तिलक गरिदिएकोमा उनलाई कुनै हिनताबोध छैन । बरु उनी निकै उत्साहित थिइन् । लक्ष्मीसँग कुनै सल्लाह नगरी तिलक गरिदिएको उनले बताइन् । 'उमेर पुगिसकेपछि ऊसँग (छोरी) किन सोधिराख्नुपर्यो ? सकेसम्म राम्रै घर खोजेका छौं,' शारदाले भनिन्, 'हाम्रो विवाह हुँदा पनि बुबाआमाले सोधेनन् । पहिलेदेखि चल्दै आएको परम्परा मान्नै पर्यो ।'
तिलक कार्यक्रमको तयारी भइरहँदा महिलाले लक्ष्मीलाई घुम्टो ओढ्न सिकाइरहेका थिए । उनले आफ्नो बिहेबारे पहिले थाहै नपाएको बताइन् । 'मेरो बिहेबारे मलाई केही जानकारी छैन । घरकाले पहिले नै केटा खोजिसकेका रहेछन्,' उनले भनिन्, 'आमाबुबाले गरिरहेको काम राम्रै होला ।'
मधेसी समुदायमा सानै उमेरमा विवाह गर्ने परम्परा छ । विवाह भएको ४/५ वर्षपछि गौना, ठेउना -दुलाहाको घरमा पठाउने) गर्ने चलन छ । ठेउना गर्दासम्म किशोरीको उमेर पुगिसक्ने उनीहरूको दाबी छ । मुलुकी ऐन, २०२० को बिहावारीको महलमा बालविवाह गरे, गराएमा सजायको व्यवस्था गरिएको छ । १० वर्ष नपुगेकी बालिकाको विवाह गरे, गराएमा ६ महिनादेखि ३ वर्षसम्म कैद र १ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । त्यस्तै १० वर्षदेखि १४ वर्ष नपुगेकी बालिकाको विवाह गरे, गराएमा ३ महिनादेखि १ वर्षसम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । १४ वर्षदेखि १८ वर्ष नपुगेकी बालिकाको विवाह गरे, गराएमा ६ महिनासम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुन्छ ।
'हामीलाई कानुनभन्दा पनि आफ्नो परम्परा प्यारो छ । सानै उमेरमा विवाह नगरे छोरीलाई घरमा बसाउनु पर्ने बाध्यता आउन सक्छ,' स्थानीय रामसागर धोबी भन्छन्, 'त्यसैले सानै उमेरमा छोरीको विवाह गर्छौ ।'
अभिभावकको मञ्जुरीमा महिला र पुरुषको उमेर १८ वर्ष र आफूखुसी विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्छ । 'तर, गरिबी, जनचेतना अभावका कारण परम्परा जोगाउने नाममा मधेसी समुदायमा बालविवाह हुने क्रम जारी छ,' महिला तथा बालबालिका कार्यालयकी फोकलपर्सन बिन्दु कुँवरले आफूहरूलाई जानकारीमा आएअनुसारका बालविवाहलाई रोक्दै आएको बताइन् । फागुन महिनामा प्रहरीको सहयोगमा ५ किशोरीको बालविवाह रोकिएको उनले बताइन् ।