'मिस वर्ल्डमा नेपाली नारीको चरित्र बोकेर जानेछु'

http://pkrupdate.blogspot.com/2015/04/blog-post_84.html
छ साता लामो बन्द प्रशिक्षणपछि शनिबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्ण होटलमा आयोजित मिस नेपालको ग्रान्ड फिनाले काठमाडौं भोटेबहालकी २३ वर्षीया इभाना मानन्धरले जितेकी छन् । मार्केटिङ विषयमा अमेरिकामा स्नातक पढिरहेकी इभाना 'मिस नेपाल मिसन'कै लागि काठमाडौं आएकी थिइन् । शनिबार राति दस बज्दा देशले मिस नेपालका रुपमा इभानालाई पाउँदा उनको मिसन पनि साकार भयो । सन् १९९४ देखि हिडन् ट्रेजरले नियमित गर्दै आएको प्रतियोगितामा इभाना २० औं मिस नेपाल बनेकी छन् । उपाधिसँगै उनले पुरस्कार र एक वर्ष सेवासुविधा पाएकी छन् ।
इभानाले टप पाँचमा पुग्न 'वैदेशिक रोजगारीका लागि देश छोडेर जानेलाई कसरी रोक्न सकिन्छ ?' भन्ने प्रश्नमा शिक्षाका लागि कोही बाहिर जान्छ भने उसले देशका लागि दक्षता लिएर आउन र श्रमका लागि जानेले पनि सीप ल्याएर देशमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरेकी थिइन् । उनले फराकिलो सोच राख्नुपर्ने र काम भने आफ्नो लागि गर्नुपर्नेमा पनि जोड दिइन् । उपाधि लगत्तै बधाईका ओइरो पाएर उद्वेलित इभानालाई कान्तिपुरले संक्षिप्त कुरा गर्न भ्याएको थियो ।
तपाईं मिस नेपाल हुनुको फाइदा देशलाई के होला ?
मैले भन्दै आएको छु र अघि जवाफमा पनि भनें- म अमेरिकाबाट पढेर आएकी छु । आफ्नो देश, समाजका लागि पढेको ज्ञान लिएर अगाडि बढ्न चाहन्छु । नेपाली नारी र बालबालिकाका लागि काम गर्नेछु । खासगरी जो अशिक्षित छन्, त्यस्ता नारी र बच्चाका लागि मिस नेपालको हैसियतले आफ्नो पढाइको भरपूर प्रयोग गर्नेछु ।
देशको प्रतिनिधित्व गर्दै मिस वल्र्डमा सहभागी हुँदा तपाईंको लक्ष्य के हुनेछ ?
पहिलो त नेपालबाट जितेर जानु नै सबैभन्दा ठूलो प्रतिस्पर्धा हो । जुन मैले पार गरिसकेकी छु । र, बाँकी रह्यो मिस वल्र्डको । त्यहाँ दुई सयभन्दा बढी देशबाट आएका उत्तिकै शारीरिक र बौद्धिक रूपमा सुन्दर प्रतिस्पर्धी हुनेछन् । मेरो पहिलो कदम नेपालको सही प्रतिनिधित्व गर्ने हुनेछ । र, त्यसका लागि कडा परिश्रम र मिहिनेत गर्नेछु । पहिले त म आफू नेपाली नारीको चरित्र बोकेर त्यहाँ जानेछु ।
टाइटल जित्नुको श्रेय कसलाई दिन चाहनुहुन्छ ?
पहिले त हिडन टे्रजरलाई दिन चाहन्छु । त्यसपछि मेरो सबै परिवारलाई दिन चाहन्छु । यो टाइटल मैले मेरै हार्ड वर्क र डेडिकेसनले गर्दा पाएकी हुँ । र, यो सफलता म सबै नेपालीसामु बाँड्न चाहन्छु । सबैलाई धन्यवाद ।